बाङखोलामा पुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज
म्याग्दी | फागुन २५, २०८१
म्याग्दी: धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ ।
धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो ।
गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो ।
धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।
छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।
यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ ।
गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् ।
दरगाउँ सडक सञ्जालमा जोडियो
यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् ।
गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो ।
सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ ।
दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा रु पाँच लाख, २०८०÷८१ मा रु १३ लाख र चालु आव २०८१÷८२ मा रु १० लाख विनियोजन गरेको थियो ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

